कांग्रेस संस्थापनको अपिल : अहिले एकताबद्ध भएर निर्वाचनमा होमिऔं, चुनावपछि महाधिवेशन

कांग्रेस संस्थापनको अपिल : अहिले एकताबद्ध भएर निर्वाचनमा होमिऔं, चुनावपछि महाधिवेशन


काठमाण्डु – नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले देशको पछिल्लो राजनीतिक अस्थिरता र प्रतिनिधिसभा विघटनपछिको अन्योललाई चिर्न कांग्रेस संगठित हुनुपर्नेमा जोड दिएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाण्डुमा विशेष महाधिवेशन जारी रहेकै बेला अपिल जारी गर्दै कार्यबाहक सभापति खड्काले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमार्फत संविधानलाई सही मार्गमा ल्याउन र लोकतान्त्रिक व्यवस्था सुचारु गर्न कांग्रेसको भूमिका निर्णायक हुने स्मरण गराए ।

पार्टीभित्र पछिल्लो समय देखिएको विवाद र समानान्तर गतिविधिप्रति संकेत गर्दै कार्यबाहक सभापति खड्काले भनेका छन्, ‘नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । यस्तो विषम परिस्थितिमा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न म सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु ।’

उनले इतिहासका हरेक कठिन मोडमा कांग्रेसले उचित निकास दिएको स्मरण गराउँदै अहिले फेरि ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गरेका छन् ।

नेतृत्व परिवर्तनका सवालमा खड्काले आगामी २०८३ वैशाखमा हुने १५औं महाधिवेशनमार्फत नीति परिमार्जन र नेतृत्व सहज रूपमा परिवर्तन गर्ने अवसर सुनिश्चित रहेको स्पष्ट पारे । ‘निर्वाचन सम्पन्न गरेपछि महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बाटो खुला छ, तसर्थ अहिले सम्पूर्ण पार्टीपंक्ति एकताबद्ध भई निर्वाचन अभियानमा लाग्नुपर्छ,’ उनले अपिलमा भनेका छन् ।

खड्काले केन्द्रीय कार्यसमितिदेखि वडा तहसम्मका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्था र सहयोगी सबैलाई आपसी तिक्तता त्यागेर एकढिक्का हुन अनुरोध गरेका छन् । निर्वाचनको मुखमा पार्टीभित्र देखिने फुटले लोकतन्त्र र संविधान दुवैलाई कमजोर बनाउने भन्दै उनले पार्टीको प्रतिष्ठा जोगाउन सबैलाई गम्भीर हुन आग्रह गरेका छन् ।