काठमाण्डु– नेपाली कांग्रेसमा चुलिएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता सुरु भएको छ। संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा बिहान साढे ८ बजेदेखि वार्ता भइरहेको हो।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल उपस्थित छन् भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।
विवाद मिलाउन सोमबार बिहानबाटै दुई पक्षका नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ।
सहमतिका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चार वटा विषयलाई बटमलाइन बनाएका छन्।
विशेष महाधिवेशनबाट पारित नीतिगत विषयको स्वामित्व पार्टीले लिनुपर्ने, आसन्न निर्वाचनमा वितरण हुने टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षर हुने व्यवस्था मिलाउनुपर्ने, थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्न संस्थापन पक्ष तयार हुनपर्ने, आसन्न निर्वाचनमा टिकट वितरण गर्दा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा दिने गरी पार्टीभित्रको शक्ति सन्तुलनको ग्यारेन्टी गर्नुपर्ने प्रस्ताव महामन्त्रीद्वयले राखेका छन् ।
आजै बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । विशेष महाधिवेशन पक्ष आजको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएको छ।
विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि नै पारित भइसकेको र आज पनि बन्द सत्र चल्ने भएकोले बैठकमा उपस्थित नहुने एक नेताले बताए ।




प्रतिक्रिया