काठमाण्डु – नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् ।
मंगलबार काठमाण्डुमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरे पनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए ।
विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ । जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो ।’
नेता शर्माले वर्तमान विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने उनको धारणा छ ।
विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भए पनि आमकार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने उनले आग्रह गरे ।
पार्टीभित्र देखिएका सबै मतभेद संवाद र समझदारीबाट टुंग्याउनुपर्ने उल्लेख गर्दै सहमति भाँड्ने र उच्छृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई संयमित भएर पार्टी एकताका लागि एकजुट हुन आह्वान गरे ।
उनले भने, ‘वर्तमान विषम परस्थितिमा नेपाली कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । साथै विशेष महाधिवेशन पक्षधरहरुले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भए पनि आमकार्यकर्ता र पार्टीहितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरू संवाद र समझदारीबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने, उच्छृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ । त्यसैले सबै नेता र कार्यकर्ताहरूलाई संयमित रहेर एकताबद्ध हुन आग्रह गर्दछु ।’




प्रतिक्रिया