उम्मेदवारी पत्रबाट देउवाको हस्ताक्षर हटाउने गगन पक्षको निर्णय, आयोगमा विवरण पेश

उम्मेदवारी पत्रबाट देउवाको हस्ताक्षर हटाउने गगन पक्षको निर्णय, आयोगमा विवरण पेश


काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेको गगनकुमार थापा पक्षले आसन्न चुनावको उम्मेदवारको मनोनयन पत्रबाट शेरबहादुर देउवाको हस्ताक्षर हटाउने सहितको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा पेश गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेश गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनले भने, ‘उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न, समानुपातिक उम्मेदवारको लिस्ट संशोधन गर्नका लागि आयोगमा विवरण पेश गरिएको छ ।’ बैठकले उम्मेदवारको हस्ताक्षरमा नवनिर्वाचित सभापति गगनकुमार थापाको हस्ताक्षर कायम हुने निर्णय गरेको छ ।

बैठकले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ । विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ । चालिसेले पार्टीका अभिलेखहरू अद्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने जानकारी दिए ।