निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

निर्वाचनका लागि वैदेशिक सहायता भित्रिँदै, भारतले चार सय गाडी दिने, युरोपेली युनियनको सहयोग पनि आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि भारतले ४ सय वटा गाडी सहयोग गर्ने भएको छ। जसमध्ये पहिलो लट एक साताभित्र नेपाल आइपुग्ने छ।

गृह मन्त्रालयका अनुसार एक सय ८ वटा गाडीको भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । भारतले निर्वाचन प्रयोजनका लागि नेपाललाई करिब ४ सय गाडी अनुदानस्वरुप दिन लागेको गृह मन्त्रालयले जनाएको छ ।

भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन लागेको हो ।

जसमा ४५ वटा स्कोर्पियो र ६१ वटा बोलेरो डबल क्याबिन पिक भ्यान रहेको छ। उक्त गाडी नेपालमा ल्याउन आवश्यक पर्ने करछुटका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनसार भारतले दिने ४ सय गाडी मध्ये १०८ वटा एक साताभित्रै नेपाल आइपुग्नेछ ।

निर्वाचनका लागि सुरक्षा निकायहरूलाई गाडीको अभाव रहेकाले भारतबाट आउनेमध्ये धेरै सुरक्षा निकायलाई दिने तयारी छ।

यो गाडी नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्नेछ ।

यसअघि २०७९ सालको निर्वाचनमा पनि भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो।

यसबीच नेपालको निर्वाचनका लागि युरोपेली देशहरूले पनि संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने भएका छन् ।

चुनावका लागि जापानले सिधै आर्थिक सहायता गर्ने जनाएको छ । चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहयताको शीर्षक परिवर्तन गरेर चुनावमा सहयोग गर्न जापान तयार रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर चीनका तर्फबाट अहिलेसम्म कुनै पनि जबाफ आएको छैन ।