काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एक्लाएक्लै चुनाव लड्ने बाटो खुलेको बताएका छन् ।
दलको आधिकारिक मान्यता आफ्नो पक्षलाई निर्वाचन आयोगले दिएलगत्तै सामाजिक सञ्जालबाट लाइभ गर्दै शर्माले चुनावअघि गरिने गठबन्धनको च्याप्टर क्लोज भएको बताएका हुन् ।
शर्माले भने, ‘ऊ र ऊ मिलेको छ, ऊ र ऊ मिलेको छ । यो कुरा नागरिकलाई मन परेको छैन । प्रिपोल एलायन्सको च्याप्टर छोडेर जाऔं, सबै एक्लाएक्लै लडेर जाऔं ।’
शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा होमिने घोषणा समेत गरेका छन् ।
उनले भने ’पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,’ शर्माले भने, ’महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहना बमोजिम हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ ।’
शर्माले कांग्रेसको अबको एजेण्डा ’स्थिर सरकार’ हुने बताए । विगत ३४ वर्षमा ३० वटा सरकार बनेर देश अस्थिरताको चक्रमा फसेको भन्दै उनले अब ५ वर्षसम्म टिक्ने प्रधानमन्त्री र सुशासनका लागि कांग्रेसले ’फुल टर्म प्राइममिनिस्टर एक्ट’ को अवधारणा ल्याएको जानकारी दिए । उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने एक्जिट पोलिसीलाई कडाइका साथ लागू गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
आधा घण्टा लामो लाइभमा शर्माले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता गरेका छन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगरेका र गरकोबीच कुनै भेदभाव नहुने उनले बताएका छन् ।




प्रतिक्रिया