काठमाण्डु – निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको यो निर्णय अवैधानिक, एकतर्फी र दुषित मनसायबाट प्रेरित भएको बैठकले निष्कर्ष निकालेको बताए।
उनले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई आयोगको उक्त निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको बताए।
उनले भने, ‘उपस्थित संख्या समेत नहेरी एकतर्फी रूपमा गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
महतले निर्वाचन आयोगले आफूहरूलाई आफ्नो पक्ष राख्ने मौका समेत नदिएको गुनासो गरे। ‘आयोगले हामीलाई बोलाउँदा पनि बोलाएन। हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि पूरा गरेन,’ महतले भने, ‘नजीर, विधान र निर्वाचनसम्बन्धी कानुनको पालना नगरी अन्यायपूर्ण निर्णय गरियो।’
साथै उनले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताउँदै आइतबार सर्वोच्च अदालत जाने तयारी रहेको जानकारी दिए।
महतले भने, ‘सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाइ गर्ने ठाउँ हो। भोलि हामी यसको खिलाफमा सर्वोच्च जान्छौँ। हामीलाई विश्वास छ, सर्वोच्चबाट न्याय हुन्छ र स्टे अर्डर आउन सक्छ।’
उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’
महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपाको पाटी कार्यालय छोड्ने प्रश्नै नउठ्ने बताए।
निर्वाचन आयोगले शुक्रबार कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरेको थियो । देउवा पक्षीय कांग्रेसले उक्त निर्णयको प्रतिवाद गरेको छ ।




प्रतिक्रिया