काठमाण्डु – नेपाली कांग्रेसले पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ।
शनिबार काठमाण्डुमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई पुर्याएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको उनले बताए। आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले बताए।
त्यस्तै बैठकले अहिलेको अवस्थामा पार्टीलाई बलियो बनाउन निवर्तमान केन्द्रीय कार्यसमिति र अग्रज नेताहरूले आफ्नो तर्फबाट महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए।
उनले अब पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे। चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताए।




प्रतिक्रिया