जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईलाई

जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईलाई


रामेछाप – यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ भने गत वर्षको सोही पुरस्कार साहित्यकार मीना चौलागाईंलाई प्रदान गरिएको छ ।

शनिबार मन्थलीमा सम्पन्न ११औं जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा दुवै साहित्यकारलाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

जगदीश घिमिरे प्रतिष्ठानका अनुसार गत वर्ष पुरस्कार घोषणा हुन नसकेकाले यस वर्ष २ वर्षका पुरस्कार एकै कार्यक्रममार्फत प्रदान गरिएको छ ।

प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरे लगायतका स्रष्टाले पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार र विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

नयाँ पुस्तामा साहित्य, विचार र अभिव्यक्ति कलाप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा रामेछापसहित देशका विभिन्न जिल्लाबाट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वरिष्ठ साहित्यकार जगदीश घिमिरेले जीवनकालमै स्थापना गरेको प्रतिष्ठानले उनको साहित्यिक चिन्तन र अभियानलाई निरन्तरता दिँदै आएको छ ।

मल्टिपल माइलोमा क्यान्सरबाट पीडित भएपछि उनले २०६३ सालदेखि हरेक वर्ष हिउँदमा मन्थलीमा साहित्य सम्मेलन आयोजना गर्दै राष्ट्रिय तथा स्थानीय साहित्यकारलाई एउटै मञ्चमा जोड्ने प्रयास गर्दै आएका थिए ।

घिमिरेको चर्चित कृति अन्तर्मनको यात्राले विक्रम संवत् २०६४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । कृतिले उत्तम शान्ति पुरस्कार समेत पाएको छ । उनी मैनाली कथा पुरस्कारबाट पनि सम्मानित भएका थिए ।

विक्रम संवत् २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मिएका घिमिरेको २०७० कात्तिक १४ गते ६८ वर्षको उमेरमा काठमाण्डुस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।