काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट तीव्र पारेको छ । अहिलेसम्म रास्वपाका ८ उम्मेदवार निश्चित भएको छ ।
पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा बनाएको उम्मेदवार छनोट समितिले धमाधम उम्मेदवार छनोट गरिरहेको छ ।
रास्वपाले उम्मेदवारीका लागि पार्टीभित्रैबाट खुला दरखास्त मागेको थियो । २६ पुससम्मको समयसीमाभित्र १६५ क्षेत्रकै लागि करिब ७ सयले निवेदन दिएको थियो ।
उपसभापति वाग्लेले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको बताए ।
रास्वपाले यसअघि रूपन्देही–३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचन स्थगित भए पनि उनी त्यो क्षेत्रको स्वतः उम्मेदवार हुनेछन् ।
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बन्नेछन् । उनी २०७९ को निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
यस्तै काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार बन्दै छन् । मेयरबाट राजीनामा दिएर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
उपसभापति डीपी अर्याल काठमाण्डु–९, विराजभक्त श्रेष्ठ काठमाण्डु–८, शिशिर खनाल काठमाण्डु–६, उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१, महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा–२, दीपक बोहरा कञ्चनपुर–२ हरि ढकाल चितवन–१ बाट उम्मेदवार बन्नेछन् ।




प्रतिक्रिया