एमालेमा ओलीको विरोध गर्नेहरू टिकटबाट वञ्चित

एमालेमा ओलीको विरोध गर्नेहरू टिकटबाट वञ्चित

चुनावी प्रतिस्पर्धामा ९ महिला


काठमाण्डु – नेकपा (एमाले)ले अध्यक्ष केपी ओलाीको विरोध गर्ने नेताहरूलाई चुनावी टिकटबाट वञ्चित गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको एमालेले अध्यक्षका विरोधीहरूलाई चुनावबाट वञ्चित गरेको हो ।

एमालेको शनिबार बसेको सचिवालय बैठकले १४० क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरूले भने टिकट पाएका छैनन् ।

पार्टीको हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू अवसरबाट वञ्चित भएका हुन्।

टिकट नपाउनेहरूमा पोखरेलसहित सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेनासहित छन्।

यी अधिकांश नेताहरू महाधिवेशनमा पोखरेल पक्षबाट सक्रिय थिए। तर ओली निकट मानिएका विष्णु, नीरजसहित केही नेताहरू पनि टिकटबाट वञ्चित भएका छन्।

केही क्षेत्रमा अझै उम्मेदवार टुंगो लाग्न बाँकी रहेकाले कति समेटिने अपेक्षा गरिएको छ।

९ महिलाले पाए टिकट

एमालेले ९ जना महिला नेतृलाई यसपटक चुनावी प्रतिस्पर्धामा उतारदैछ । यी ९ महिला मध्ये पाँच जना पूर्वमन्त्री समेत रहेका छन्।

एमालेले पूर्वमन्त्री भगवती चौधरी, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, भगवती न्यौपाने र बिमला बिकलाई आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ। जसमध्ये चौधरी सुनसरी–४, महतो धनुषा–३, साह बारा–३, न्यौपाने तनहु–१ र बिक बर्दिया–२मा उम्मेदवार बनेकी हुन् ।

यस्तै कञ्चनपुर–१ मा कमला बोहोरा, बागलुङ–२ मा मञ्जु शर्मा चालिसे, ओखलढुंगा–२ मा अस्मिता थापा र सोलुखुम्बुमा कल्पना राई उम्मेदवार चयन भएकी हुन् ।