काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि घेराबन्दीमा नपरी मध्यमार्गी बाटोबाट अघि बढ्ने उद्घोष गरेका छन् ।
शनिबार काठमाण्डुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो कठिन हुन्छ तर अन्तिम जीत सत्यकै हुन्छ । म अहिले यही अप्ठ्यारो बाटोमा छु र यसबाट विचलित हुने छैन ।’
निर्वाचनमा सहभागी हुने घोषणा पार्टीभित्र महामन्त्रीद्वयमाथि भएको कारबाही र विशेष महाधिवेशनको विवादबिच डा. कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका छन् । देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचन नै उत्तम विकल्प भएको बताउँदै उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा लाग्न आह्वान गरे ।
निर्वाचन आयोगसँग मनोनयन सार्न आग्रह निर्वाचनको वातावरण सहज बनाउनका लागि माघ ६ गते तोकिएको उम्मेदवारी मनोनयनको मिति केही दिन सार्न आफूले निर्वाचन आयोगलाई अनुरोध गरेको कोइरालाले जानकारी दिए । ‘सरकारले निर्वाचनको वातावरण र सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ, तर हालसम्म त्यसको ठोस प्रत्याभूति हुन सकेको छैन,’ उनले भने ।
अदालतको निर्णय पर्खिने पार्टीभित्रको पछिल्लो विवाद र कारबाहीका विषयहरू अदालतमा प्रवेश गरिसकेकाले आफूले न्यायालयको निर्णयलाई शिरोधार्य गर्ने उनको भनाइ थियो । उनले निर्वाचनसँगै १५औं महाधिवेशनको तयारीलाई समेत सँगसँगै अगाडि बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।
कार्यकर्ताको गुनासो र भरोसा भेलामा सहभागी जिल्ला तहका नेता तथा कार्यकर्ताहरूले १५औं महाधिवेशनको सुनिश्चितताबारे चासो राख्दै तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका थिए । उनीहरूले निर्वाचन आयोगबाट न्याय नपाए पनि अदालतले पार्टीको विवाद र वैधानिकताका सम्बन्धमा न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।
डा. कोइरालाको मध्यमार्गी अडानले पार्टीभित्रको संस्थापन पक्ष र कारबाहीमा परेका नेताहरूबीचको दूरी कम गर्न कस्तो भूमिका खेल्छ भन्ने विषयलाई कांग्रेस वृत्तमा महत्त्वका साथ हेरिएको छ ।





प्रतिक्रिया