काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन् ।
आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आईतबार प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् ।
छलफलमा निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो ।
जसअनुसार निर्वाचन आचारसंहिता आईतबार राति १२ बजेबाट लागू हुनेछ । आयोगको आइतबारै बसेको बैठकले निर्वाचन आचारसंहिता आईतबार राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यबाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।




प्रतिक्रिया