काठमाण्डु – उम्मेदवारी दर्तासँगै निर्वाचनको सुनिश्चितताले शेयर बजारमा ठूलो उछाल आएको छ ।
राजनीतिक अन्योल र निर्वाचन सर्ने संशयबिच सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि बजारले सकारात्मक लय समातेको छ ।
मंगलबार नेप्से परिसूचक ४२.२६ अंक (१.५८ प्रतिशत) ले बढेर २ हजार ७१४.८१ बिन्दुमा पुगेको छ । मंगलबारको बिन्दु साढे ५ महिनायताकै उच्च बिन्दु हो ।
यसअघि भदौ १९ गते नेप्से २ हजार ७१९ बिन्दुमा रहेको थियो तर त्यसपछिको ‘जेनजी विद्रोह’ र राजनीतिक अस्थिरताका कारण बजार निरन्तर ओरालो लागेको थियो ।
मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूले उम्मेदवारी दर्ता गरेपछि चुनाव हुनेमा लगानीकर्ता ढुक्क देखिएका छन् । नेपाली कांग्रेसको गगनकुमार थापा नेतृत्वको पक्षले आधिकारिकता पाएसँगै चुनाव सर्ने आशंका हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरमा गरेको चुनावी सभामा भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह ‘बालेन’को चर्चाले स्थिर सरकार बन्ने विश्लेषकहरूको तर्क छ ।
कारोबारको अवस्था मंगलबार बजारमा ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन पछिल्लो समयको उल्लेख्य रकम हो । कुल २ करोड ५१ लाख ८५ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा होटल तथा पर्यटन क्षेत्रको सूचक सर्वाधिक २३५.६७ अंकले बढेको छ ।
बजारमा गुर्खाज फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । अरुण काबेली र रसुवा हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालका अनुसार चुनाव निश्चित हुनु र नयाँ शक्तिहरूको उदयले बजारमा सकारात्मक मनोविज्ञान सञ्चार गरेको छ ।




प्रतिक्रिया