आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरिँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व शुक्रबार श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ ।

आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहेको छ । विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ । तान्त्रिकहरू भने तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म गर्न नहुने मान्यता छ ।

बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ । काठमाण्डु उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको भीड लागेको छ ।

हनुमानढोका दरबारको नासल चोकमा आज वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम छ ।