शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक सरस्वती पूजा, अर्थात् श्री पञ्चमी मनाइँदैछ । ज्ञान, विद्या, कला, संगीत र सृजनाकी देवी सरस्वतीको पूजा वैदिक सनातन परम्पराअनुसार विशेष महत्त्वका साथ गरिन्छ ।
ब्रह्मवैवर्त पुराणमा उल्लेख भएअनुसार विद्या, शब्द, कला र विज्ञानकी देवी सरस्वतीको पूजा श्रीकृष्णको वरदानअनुसार आजकै दिन गर्नुपर्ने मान्यता रहिआएको छ । यही विश्वासका आधारमा बिहानै उठी स्नान गरी शुद्ध वस्त्र धारण गरेर कलश स्थापना, गणेश, विष्णु, शिव र सूर्यको पूजा गर्दै सरस्वतीको आराधना गरिन्छ ।
सरस्वती पूजा विशेषतः विद्यार्थी, शिक्षक, सर्जक, कलाकार र बौद्धिक वर्गसँग गहिरो रूपमा जोडिएको पर्व हो । विद्यालय र कलेजहरूमा विशेष रौनक देखिन्छ । विद्यार्थीहरूका लागि नियमित पोसाकबिनै रंगीन पहिरनमा विद्यालय जाने स्वतन्त्रताले वातावरण थप उल्लासमय बनाउँछ ।
कक्षा कोठा, प्राङ्गण र मञ्चहरू रंगीन तोरण, फूलमाला, केराका दाम्चा, बाँस र अशोकका पातले सजाइन्छन् । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिन्छ ।
तराई क्षेत्रतिर सरस्वती पूजाका दिन बुनियाँ, बयर, फलफूल र गुलिया परिकार प्रसादका रूपमा बाँड्ने चलन छ । यस्ता परम्पराले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सामूहिक सहभागितालाई समेत बल पुर्याएको देखिन्छ ।
यस दिनलाई साना बालबालिकाका लागि अक्षरारम्भ गर्ने शुभ दिनका रूपमा पनि चिनिन्छ भने क, ख, ग वा अ, आ, इबाट औपचारिक रूपमा पढाइ सुरु गराउने परम्परा छ ।
जिब्रोमा ‘ॐ श्री सरस्वत्यै नमः’ लेखिदिने चलनले बालबालिकामा पढाइप्रतिको रुचि र तेजस्विता बढ्छ भन्ने विश्वास पनि रहिआएको छ ।
यस वर्ष सरस्वती पूजा माघ शुक्ल पक्षको पञ्चमी तिथि, शुक्रबार परेको छ । सरस्वती माताको प्राकट्य दिन भएकाले विद्या, धन, कर्म वा साधनाको चाहना गर्ने सबैका लागि यो दिन अत्यन्त फलदायी मानिन्छ । सरस्वती माताबाट उत्पन्न ‘सारेगमपधनिसा’ स्वरकै कारण उनीलाई संगीतकी देवी भनिएको पौराणिक विश्वास पनि प्रचलित छ ।
शिक्षा, संस्कृति र धर्म समयसँगै रूप फेरिए पनि कहिल्यै लोप हुँदैनन् । विश्वास मान्ने–नमान्ने व्यक्तिगत कुरा भए पनि ज्ञानप्रतिको आस्था पुस्तान्तरण हुँदै जाने निश्चित छ । शिक्षकहरूले युवा पुस्तालाई संस्कार र ज्ञान हस्तान्तरण गरिरहेसम्म सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन ।
काठमाण्डु उपत्यकाका नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नील सरस्वती, ललितपुरको लेले लगायतका सरस्वती मन्दिरहरूमा विशेष मेला लाग्छ । पशुपतिनाथ परिसरमा रहेको सरस्वतीको मूर्तिलाई बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीका रूपमा पूजा गर्ने परम्परा पनि छ, जसले नेपाली समाजको धार्मिक सहिष्णुता र सांस्कृतिक विविधतालाई उजागर गर्छ ।
नेपालभरिका अधिकांश सरकारी विद्यालय परिसरमा सानो वा ठूलो सरस्वती मन्दिर हुनु यस पर्वको सामाजिक गहिराइको प्रमाण हो ।
सरस्वती देवीलाई केवल हिन्दु धर्मसँग मात्र सीमित गरेर हेर्नु उपयुक्त हुँदैन । विद्या, ज्ञान र सृजनाप्रतिको आस्थाका रूपमा सरस्वती पूजालाई सबै धर्म, वर्ग र समुदायले आत्मसात् गर्न सक्ने साझा सांस्कृतिक पर्वका रूपमा लिन सकिन्छ । यो दिन सर्जकहरूको विशेष दिन पनि हो ।
सरस्वती पूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन, ज्ञान, सिर्जना र संस्कृतिप्रतिको सम्मान हो । यसले व्यक्ति, समाज र राष्ट्रलाई बौद्धिक रूपमा समृद्ध बनाउने सन्देश दिन्छ ।
आजको दिन ज्ञानको दीप प्रज्वलित गर्दै सृजनाको उज्यालो अनन्तकालसम्म फैलियोस् भन्ने कामनासहित सरस्वती पूजाको सार्थकता अझ गहिरो रूपमा अनुभूत हुन्छ ।




प्रतिक्रिया