काठमाण्डु– निर्वाचन आयोगले चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख गरेको छ ।
राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने आचारसंहितामा उल्लेख छ।
दलले निर्वाचनमा २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसलाई कार्यान्वयन गर्न आयोगले राष्ट्र बैंकलाई पत्राचार गरेको हो। यसरी खोलिएका खातालाई निर्वाचन सकिएपछि पनि आयोगले बन्द गर्न नलगाउँदासम्म यथावत राख्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ।




प्रतिक्रिया