राष्ट्रियसभा सदस्यमा कर्णालीबाट कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

राष्ट्रियसभा सदस्यमा कर्णालीबाट कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित


सुर्खेत – राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आईतबार भएकोे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हासिल गरेको हो ।

गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने २ पदका लागि ४ जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले ३ हजार २७८ मतभारसहित विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपाका बुद्धिप्रसाद शर्माले १ हजार ६३९ मतभार ल्याएका छन् । नेकपा एमालेका मीनासिंह रखालले ३ हजार १४५ मतभारसहित विजयी हुँदा नेकपाकी अञ्जु महताराले १ हजार ७३४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए ।

आईतबार भएको निर्वाचनमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको थियो । राष्ट्रियसभा निर्वाचनका लागि १९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधि दिउँसो ३ बजेसम्म १९१ मत खसेको थियो । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने राप्रपाकी प्रदेशसभा सदस्य सन्तोषी शाहीले मतदान बहिष्कार गरेकी थिइन् ।