काठमाण्डु – पत्रकार पक्राउ गर्न प्रहरी परिचालन भएको घटनामा प्रधानमन्त्री र सत्तारूढ दलले नै विरोध जनाएपछि पूर्वगृहसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले सरकार सञ्चालनको शैलीमाथि व्यंग्य गरेका छन् ।
शुक्रबारको घटनालाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्दै मैनालीले प्रहरी पत्रकार पक्राउ गर्न जाने र प्रधानमन्त्री तथा सत्तारूढ दल त्यसको विरोध गर्ने अवस्थालाई विडम्बनापूर्ण बताएका हुन् ।
‘प्रहरी पत्रकारहरू समात्ने, प्रधानमन्त्री र सत्तारूढ दल यसको विरोध गर्ने । के हुन लागेको नेपालमा ? कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेको यही हो,’ उनले लेखेका छन् ।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो । सादा पोसाकका प्रहरी पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
घटनापछि प्रधानमन्त्री कार्यालय र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रहरीको उक्त कारबाहीबारे आफूहरू अनभिज्ञ रहेको बताएका थिए ।
यसैबीच, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले सुरक्षा बिटमा कलम चलाउने पत्रकारहरूका लागि बनाइएको ह्वाट्सएप समूहमा शुक्रबार मध्यराति पठाएको सन्देशमा प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको उल्लेख गरेका थिए । उनले शनिबार बिहान उक्त सन्देश हटाए ।


प्रतिक्रिया