काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी र बागमती प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
लुम्बिनी प्रदेशका ३ वटै सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धनका उम्मेदवारले जितेका छन् ।
अन्तिम मतगणनाअनुसार महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् ।
अपाङ्गतातर्फ जंगलीले ५ हजार ३२२ मतभार प्राप्त गरी विजयी हुँदा नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याएका छन् ।
अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भएका छन् भने नेकपाका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याएका छन् ।
यस्तै, बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका छन् ।
महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मतसहित निर्वाचन जितेकी छन् । उनले प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाइन् । झाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाइन् । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाइन् । उनले प्रदेश सभातर्फ ३ र स्थानीय तहतर्फ २ मत पाइन् ।
प्रदेश सभातर्फ कुल ८९ मतदातामध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तहतर्फ २२९ मतमध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मतसहित निर्वाचन जितेका छन् । उनले प्रदेश सभातर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए । उनले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत पाए । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत पाएका छन् ।




प्रतिक्रिया