राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा जेल सजाय र जरिवाना हुन्छ : गृह मन्त्रालय

राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा जेल सजाय र जरिवाना हुन्छ : गृह मन्त्रालय


काठमाण्डु – गृह मन्त्रालयले नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डालाई अपमानजनक ढंगले प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।

‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’को उल्लंघन भइरहेको जनगुनासो र अनुगमनका आधारमा मन्त्रालयले यस्तो कडा निर्देशन जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा झण्डाको प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो नराख्न, झण्डा च्यात्न, जलाउन, फ्याँक्न वा कुनै सामान पोको पार्न निषेध गरिएको छ ।

झण्डाको प्रतीक शरीरमा टाँस्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागमा मात्र लगाउनुपर्ने, भित्री कपडा वा कम्मरभन्दा तलको पहिरनमा झण्डाको चित्र राख्न नपाइने, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले झण्डाको प्रयोग गर्न निषेध गरिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०८२ लाई स्मरण गराउँदै मन्त्रालयले कुनै पनि जुलुस, आमसभा वा र्‍यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने स्पष्ट पारेको छ । संख्यात्मक सीमा नाघेमा वा निर्वाचन प्रचारमा जथाभावी प्रयोग गरेमा कानूनी कारबाही हुने मन्त्रालयले जनाएको छ ।

सजायको व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ लाई उदृत गर्दै गृह मन्त्रालयले राष्ट्रिय झण्डाको अपमान गर्ने वा मर्यादा विपरीत प्रयोग गर्नेलाई कानून बमोजिम सजाय हुने बताएको छ । झण्डाको प्रयोगको नियमित अनुगमन गर्न देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रको स्वाभिमानसँग जोडिएको विषय भएकाले झण्डाको उच्च गरिमा र मर्यादा राख्न मन्त्रालयले आमनागरिक, राजनीतिक दल र उम्मेदवारहरूलाई हार्दिक अनुरोध गरेको छ ।