विकास र समृद्धिका लागि नीति बनाउन उम्मेदवारी दिएँ : माधव ढुङ्गेल

विकास र समृद्धिका लागि नीति बनाउन उम्मेदवारी दिएँ : माधव ढुङ्गेल


रामेछाप – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापका उम्मेदवार माधव ढुङ्गेलले रामेछाप र समग्र देशको विकास तथा समृद्धिका नीति अनुसारका कानून बनाउनु आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

शनिबार बिहान नेकपा एमाले रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ढुङ्गेलले आउने निर्वाचनमा एमाले र आफूलाई मत किन भन्ने विषयमा धारणा राखेका हुन् ।

ढुङ्गेलले देशमा राजनीतिक स्थिरता, विकास, समृद्धि र दिगोपनका लागि एमाले नेतृत्वको सरकार बन्न आवश्यक रहेको बताए ।

भदौ २३ र २४ को विध्वंस र विनाश कुनै नेपालीले गर्न नसक्ने बताउँदै ढुङ्गेलले त्यस्ता घटना रोक्न र देशमा सुरक्षाको प्रत्याभूति दिलाउन पनि एमालेको एकल नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

रामेछाप जिल्ला कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा निक्कै धनी भएको बताउँदै उनले कृषि र पर्यटन क्षेत्रको व्यावसायिक विकास र जलश्रोतको रोयल्टी रामेछापका जनताले पाउने गरी कानुन बनाउन आफू निरन्तर लाग्ने ढुङ्गेलले बताए । ढुङ्गेलले आफू चुनाव जितेर प्रतिनिधि सभामा प्रस्तुत हुँदा रामेछाप र रामेछापवासीको शिर झुक्न नदिने दाबी गरे ।

आफू पहिलोपटक निर्वाचनमा आएको बताउँदै ढुङ्गेलले नयाँ खोज्नेको मागलाई पनि आफ्नो उपस्थितिले सम्बोधन गर्ने दाबी गरे । ढुङ्गेलले रामेछापवासीलाई एक पटक आफूलाई जाँचेर हेर्न आग्रह गर्दै आफूलाई निर्वाचित गर्न अनुरोध गरे ।