काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको दाबी गरेका छन् ।
शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाण्डु सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।
उनले भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिंगौरी खेल्न । मैले धेरै केही भन्नु पर्दैन । अण्डा २ प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साँच्चैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैनन् । बतासे अण्डाहरूबाट कुनै चल्ला निस्किनेवाला छैन । बतासको खेती गरिरहेका छन् । यिनीहरूसँग संगठन, उद्देश्य, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन् । फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन ।’
उनले आगो बाल्ने, देश बिगार्ने, भड्काउन र तोडफोड गर्नेलाई क्रान्ति भनेर महिमा गाएको भन्दै आकासे खेती गर्नेहरू धर्तीमा जनतासम्म नपुगेको बताए । उनले भने, ‘आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ । यस्ता कुराहरूलाई क्रान्ति भनेर महिमा गाइएको छ र अरुमाथि विभिन्न प्रकारको आरोप लगाएको छ । यी आकाशे खेती हुन् । यिनीहरू जनतासम्म पुगेका छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन । एउटा मोबाइल भन्ने भाडो छ, त्यही भाडाबाट देशमा हुडलो मच्चाएको छ ।’




प्रतिक्रिया