रास्वपाले एकल बहुमत ल्याउँछ : तोषिमा कार्की

रास्वपाले एकल बहुमत ल्याउँछ : तोषिमा कार्की


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।

उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् ।‘‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु’ उनले भनिन् ।

आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्र सुधार रहेको उल्लेख गर्दै कार्कीले स्वास्थ्य बीमालाई सबै नेपाली नागरिकसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।

हाल स्वास्थ्य बीमाको पहुँच ३७ प्रतिशतमा सीमित रहेको र करिब १२ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले सबै नागरिक बीमामा आबद्ध भएमा वार्षिक १८ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने र सेवा विस्तार सम्भव हुने दाबी गरिन् ।

उनले भनिन्, ‘मैले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि काम गर्ने हो । त्यसमा स्वास्थ्य बीमामा नेपाली नागरिकहरू आबद्ध हुनुप¥यो । निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संभावना छ । तर अहिले स्वास्थ्य बीमाको पहुँच नै ३७ प्रतिशत मात्रै छ । १२ अर्ब जति भुक्तानी दिन बाँकी छ । तर राम्रो तरिकाले शतप्रतिशत नेपाली जनताले स्वास्थ्य बीमामा आबद्ध हुने हो भने १८ अर्ब बार्षीक आउने रहेछ । भुक्तानी दिएर पनि बाँकी रकम बचाउन सकिन्छ । जसमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउन सकिन्छ ।’

उनले आपतकालीन सेवा तथा ट्रमा म्यानेजमेन्ट प्रणालीलाई प्रभावकारी बनाउन एम्बुलेन्सको केन्द्रीय नियन्त्रण प्रणाली, स्वास्थ्य तथ्यांकको व्यवस्थित संकलन र इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘एउटा स्वास्थ्यको हकमा, अर्को इमर्जेन्सी, ट्रमा म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन जरूरी छ । जस्तै एम्बुलेन्सहरूको कन्ट्रोल मेकानिजम ल्याउन सकिन्छ । डेटाहरू लिने साथै इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा सम्पूर्ण नेपालीलाई आबद्ध गराउन पनि सकिन्छ ।’

स्वास्थ्यसँगै महिला सशक्तिकरण, युवा रोजगारी र भ्रष्टाचार निवारणलाई पनि पार्टीको प्राथमिक एजेन्डा रहेको कार्कीको भनाइ छ । महिलालाई आत्मनिर्भर बनाउने र वडास्तरका बजेटको प्रभावकारी प्रयोग सुनिश्चित गर्न चेक एण्ड ब्यालेन्स प्रणाली आवश्यक रहेको उनले बताइन् ।

‘महिला सशक्तिकरण, आत्मनिर्भर र सशक्त बनाउनको लागि खेल्नुपर्ने भूमिका, वडामा आएको बजेटहरूको सदुपयोग गर्दै चेक एण्ड ब्यालेन्सको काम गर्न सकिन्छ,’उनले भनिन् ।

त्यस्तै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी ब्रेन ड्रेन रोक्ने योजनामा पार्टी केन्द्रित रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनपछि बन्ने सरकार स्थायी र बलियो हुनुपर्नेमा जोड दिँदै कार्कीले भ्रष्टाचारका सबै काण्डमा दोषीलाई कारबाही र सुशासन कायम गर्नु प्राथमिकता हुने बताइन् । यसका लागि आवश्यक कानुन र ऐन संशोधन तथा पारित गर्नुपर्ने उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘अब बन्ने सरकारको मुख्य, प्राथमिकता भनेको भ्रष्टाचार निवारण, अहिलेसम्मका भ्रष्टाचारका काण्डहरूमा भएका दोषीहरूलाई कारबाही र सुशासन, सम्बन्धित ऐन वा कानुनहरूको संशोधन गर्नुपर्नेछ ।’

उनका अनुसार रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा धेरै जेनजी उम्मेदवार उठाएको छ, जसमा आठ जना जेनजी र १६ जना महिला उम्मेदवार रहेका छन् । यद्यपि, महिला प्रत्यक्ष उम्मेदवारी अझै अपर्याप्त रहेको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने उनले बताइन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सबैभन्दा बढी जेनजी उम्मेदवारहरू प्रत्यक्ष रूपमा उठाएको छ । आठ जना जेनजी हुनुहुन्छ, महिलाहरू पनि १६ जना हुनुहुन्छ । अन्य पार्टीहरूको तुलनामा हाम्रो धेरै हो तर पर्याप्त होइन,’ उनले भनिन् ।

कार्कीले अघिल्लो निर्वाचनमा संख्या नपुग्दा पार्टीका धेरै प्रस्तावित कानुन र संशोधन पारित हुन नसकेको उल्लेख गर्दै यसपटक एकल बहुमतको सरकार बनेमा पाँच वर्षभित्र ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् ।

गठबन्धन सरकारको बाध्यताले एजेन्डामा सम्झौता गर्नुपर्ने अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारिन् ।

नयाँ मतदाता र विशेषगरी जेनजी पुस्ताको भूमिका निर्णायक हुने बताउँदै कार्कीले निष्पक्ष, स्वच्छ र व्यापक सहभागितासहितको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नागरिकलाई आग्रह गरिन् । ‘अब बन्ने सरकार जेनजीको म्यान्डेट बोकेको सरकार हुनेछ,’ उनले भनिन् ।