रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ : रास्वपा नेता खनाल

रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ : रास्वपा नेता खनाल


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने बताए ।


रास्वपाको आफ्‌नो प्रस्तावाना अर्थतन्त्रका दृष्टिकोण राखिसकेको भन्दै उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै तर त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए । उनले पर्यटन क्षेत्र विकास गर्न कनेक्टीभिटी राम्रो बनाउनुपर्ने बताए । रास्वपाले टेक्नोलोजी र हाइड्रो पनि प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने ‘हामीले सम्मानजनक मध्यम आय मुलुक भएको अबको १० वर्षको लक्ष्य राखेका छौ ।’

खनालले मध्यम परिवार लक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । उनले सुशासन विना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै नियामक निकायमा हस्तक्षेप र नियुक्तीमा पारदर्शीता ढंगले काम गर्नुपर्ने बताए ।

नेता खनालले पूर्वाधार क्षेत्रमा ठूलो लगानी हुनुपर्छ तर त्यो फोकस गरेर लगानी गर्नुपर्ने भन्दै आगामी १० वर्ष भित्र ३० हजार मेगावट विजुली उत्पादन गर्ने लक्ष्य राखेका बताए । उनले विदेशमा भएका नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिने बताए ।

बहुमत नआए घोषणा पत्र कार्यान्वयन हुँदैन

खनालले राजनीतिक दलले ल्याएको घोषणा पत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणा पत्र कार्यान्वयन हुन सक्छ । ५ /६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषण पत्र लागु हुन सक्दैन,’ उनले भने ।