झापा-३ : १२ वर्षपछि एमाले एक्लै

झापा-३ : १२ वर्षपछि एमाले एक्लै

सर्तक छन् राजेन्द्र लिङदेन, रास्वपा पनि जित्ने दाउमा


काठमाण्डु – विगतका दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यस पटक भत्किएपछि झापा–३को निर्वाचन रोचक बन्दै गएको छ ।

यसअघिका चुनावहरूमा विचारभन्दा चुनावी अंकगणित हाबी हुँदा नतिजा पनि एकैप्रकारको आउँत्थ्यो । तर यसपटक दलीय गठबन्धनबिना नै चुनाव हुनेभएपछि राजनीतिक प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका उम्मेदवारहरू कसैको बैसाखी बिना चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघि जस्तो दलीय तालमेल नहुने भएपछि एमालेका नेता तथा कार्यकर्तामा फरक ‘मुड’ देखिएको छ । योपटक १२ वर्षपछि सूर्य चिह्नमा भोट हाल्न पाउने भएपछि उनीहरू खुशी देखिएका हुन् ।

यो क्षेत्रमा एमाले नेता तथा कार्यकर्ताको भावनाविपरीत केन्द्रबाटै चुजावी तालमेल हुँदै आएकोमा यसपटक तालमेल नभएपछि उनीहरू खुशी छन् ।

१२ वर्षपछि झापा–३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ । पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरिबहादुर राजवंशीले उम्मेदवारी दर्तापछि उनले भेटघाटलाई तीव्र बनाएका छन् ।

‘१२ वर्षमा खोला फर्किन्छ भन्थे । ठ्याक्कै त्यस्तै भएको छ। परिणामले पनि खोला फर्किएको प्रमाणित गर्नेछ’, उम्मेदवारी दर्तापछि राजवंशीले भनेका थिए ।

झापा–३ मा अघिल्लो पटकसम्म मतदाताहरू सूर्यमा मतदान गर्न पाएका थिएनन् । यसपटक यो अवसर आएको एमालेका नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।

सधै चर्चामा

विगतमा ‘हेभी वेट’ उम्मेदवारका कारण यो क्षेत्र चर्चा र चासोको केन्द्रमा रहन्थ्यो । झापा–३ लाई कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रभाव क्षेत्र मानिन्छ ।

तर लगातार दुईपटक (२०७४ र २०७९ मा) सिटौलालाई हराएर राप्रपा अध्यक्ष लिङदेनले यो क्षेत्रबाट जित्दै गए । लिङदेन यसपटक पनि लगातार तेस्रोपटक चुनाव जित्दै ‘ह्याट्रिक’ गर्ने तयारीमा छन् । तर विगतमा लिङ्देनलाई कडा टक्कर दिने सिटौला यसपटक चुनावी मैदानमा छैनन् ।
गत निर्वाचनमा एमालेले लिङ्देनलाई सघाएको थियो । लिङ्देनले ४० हजार ६४८ मत ल्याएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए । सिटौलालाई तत्कालीन सत्ता गठबन्धनका दलहरूको साथ थियो ।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ पाएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो ।

झापा–३ मा लिङ्देन पटक–पटक निर्वाचित भएपछि राप्रपाले पकडको क्षेत्रका रूपमा लिँदै आएको छ ।

झापा–३ मा यसअघिको निर्वाचनमा एमालेले समानुपातिकतर्फ १९४६० र राप्रपाले १९७४३ मत प्राप्त गरेको थियो । यस पटक भने एमालेले आफ्नै उम्मेदवार उठाएपछि झापा–३ मा मुख्य प्रतिस्पर्धा एमाले र राप्रपाबीच नै हुने अनुमान छ ।

राजनीतिका ‘चतुर’ खेलाडी मानिएका सिटौलाबिनाको चुनावी मैदानमा लिङ्देनले यसपटक दलीय तामलेल नभएपनि सहज महसुस गरेका छन् । तर, भनेजस्तो सहजता नरहेको राप्रपाका स्थानीय नेताहरूको भनाइ छ ।

किनभने, लिङ्देन यसअघिका दुवै चुनाव एमालेको भ¥याङ चढेर जितेका थिए । सिटौला हराउन लगातार नै एमालेले लिङ्देनलाई सघाएको थियो । एमालेको सहयोगबिना यसपटक लिङ्देनलाई सहज नभएको उनीहरूको स्वीकारोक्ति छ । एमाले वृत्तमा उनी भूमिपुत्रको रूपमा परिचित छन् ।

यहाँ नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपाका डिल्लीराम घिमिरे, रास्वपामा प्रकाश पाठक उम्मेदवार छन् ।

कांग्रेसका उम्मेदवार घिमिरे सिटौला विपक्षीखेमाका कांग्रेस कार्यकर्ता हुन् । सिटौलाको पकड रहेको झापामा इतर कांग्रेसीले अवसर पाउने कुरा असम्भवजस्तै थियो । तर, निर्वाचन आयोगले कांग्रेस विशेष महाधिवेशनपक्षलाई मान्यता दिएपछि झापामा सिटौलापक्षभित्र ठूलै पहिरो गएको छ । जसको एउटा उदाहरण हो तीन दशकदेखि एकलौटी चुनाव लड्दै आएका सिटौलाको आधार इलाकामा घिमिरेले टिकट पाउनु ।

विपक्षी खेमाका भएकाले घिमिरेलाई सिटौलापक्षले सहयोग नगर्ने प्रतिस्पर्धी पार्टीका नेताहरूको बुझाइ छ । जसको प्रत्यक्ष असर मतदातामा पर्न गएको छ ।

झापा–३ मा चारवटा पालिका छन् । भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबार र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको एउटा वडा उक्त क्षेत्रमा पर्छ । १ लाख ४० हजार ८५७ मतदाता रहेको झापा– ३ मा ९ हजार ४०० नयाँ मतदाता थपिएका छन् ।

एमाले, कांग्रेस र राप्रपाबीचको त्रिकोणात्मक भिडन्त भइरहँदा रास्वपाका उम्मेदवार पाठकले भने अप्रत्याशित नतिजा निकाल्ने दाउमा छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५बाट उम्मेदवारी दिएपछि त्यसको प्रत्यक्ष सकारात्मक असर झापा–३मा पनि पर्ने रास्वपाका नेता तथा कार्यकर्ताहरू बताउँछन् । बालेनको क्रेज देशैभर रहँदा झापा–३मा रास्वपा नै जित्ने उनीहरूको दाबी छ ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को प्रभाव छैन । तर पार्टीका उम्मेदवार तथा युवा नेता डिल्लीराम घिमिरे ‘हिक्मत’ सुशासन र स्थिरताको एजेन्डासहित चुनावी मैदानमा सक्रिय छन् ।