काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि पद छाडेका गएका ४ मन्त्रीलाई जेनजीको दबाबमा ल्याएको बताएकी छन् ।
सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ४ मन्त्रीलाई जेनजीको दबाबमा आफूले हात जोडेरै सरकारमा ल्याएको बताएकी हुन् ।
‘नजानेहरू बसे, हामीलाई थाहा छ यसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन । आए गए । अहिले सम्पर्क छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूले मात्रै चिया खाएर काम गरेका छन् ।’सरकारमै बसेर चुनाव लड्ने भन्ने हुँदैन । सरकारै छाडेर गइसकेको व्यक्ति जसलाई हामीले अधिकार नै दिएका छौँ । चुनावमा जान्छौँ भनेर राजीनामा दिएर जाऊ बिदाइ गरिदिन्छु केही छैन भनेको थिएँ ।’ उनले भनिन् ।
उनले महावीर पुन रिसाएर चुनावमा हिँडेको समेत बताइन् । उनले भनिन्, ‘दुई–चार वटा कानुन बनाऊँ भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर, यो छोटो समयमा त्यो कानुन बनाएर हामीले सहयोग गर्न सकेनौँ । त्यो कानुन मुलुककै लागि थियो ।’
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।




प्रतिक्रिया