काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।
मंगलबार श्रम मन्त्रालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले मन्त्रालयभित्र देखिएका समस्या र सुधारका विषयलाई ३ तहमा वर्गीकरण गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले मन्त्रालयभित्रै प्रशासनिक तहबाट समाधान गर्न सकिने विषयहरू जस्तै कर्मचारी सरुवा, बढुवा लगायतका मुद्दा सम्बन्धित सचिव वा बोर्ड अध्यक्षमार्फत समाधानका लागि अघि बढाउन निर्देशन दिए । ती तहबाट समाधान हुन नसकेमा माथिल्लो निकायमा पठाउन सकिने उनले बताए ।
‘यही मन्त्रालयभित्रकै एक्टिीमिस्टीभ कोणबाटै हल गर्नुपर्ने कुरा के हुन् ? त्यसलाई सचिव कहाँ पठाइदिनुहोला । कर्मचारीका सरुवा, बढुवा आदी बोर्डको अध्यक्षले हल गर्न सक्नुहुनेछ । उहाँले हल गर्न सक्नुभएन भने त्योभन्दा अलि माथि पठाउने हो,’ उनले भने ।
मन्त्री भण्डारीले दोस्रो तहको समस्याका रूपमा ऐन, नियम र कार्यविधिका नाममा बदनियतपूर्ण ढंगले सिन्डिकेट सिर्जना गरिएको उल्लेख गरे । ‘धेरैजसो कार्यविधि सेवाग्राही र श्रमिकलाई दु:ख दिने गरी बनाइएको सत्य हो,’ उनले भने, ‘हामी आफूलाई श्रमिकमैत्री भन्छौं तर व्यवहारमा त्यो देखिएको छैन, आत्मसमीक्षा आवश्यक छ ।’
उनले वैदेशिक रोजगार ऐन अन्तर्गतको नियमावलीको नियम ५२ को उपनियम (२) को ख र (३) मा उल्लेख गरिएको कार्यविधिको प्रभावकारी प्रयोगबाट धेरै अवरोध फुकाउन सकिने बताए ।
‘वैदेशिक रोजगार ऐनअन्तर्गत नियमावलीको नियम ५२ को ३ वा २ को ख मा भएको व्यवस्थामा कार्यविधि भन्ने छ । त्यो कार्यविधि प्रयोग गरेर धेरै बाधाअड्चनहरू फुकाउन सकिन्छ भन्ने छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आफू मन्त्री भएपछि १ हप्ताभित्रै मेडिकल सम्बन्धी निर्णय गर्दा मन्त्री पद कति शक्तिशाली रहेछ भन्ने अनुभूति भएको समेत उल्लेख गरेका छन् ।




प्रतिक्रिया