काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग भर्चुअल बैठक सम्पन्न गरेको छ ।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा सीडीओहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा छलफल भएको हो ।
बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।
गृह सचिव श्रेष्ठले बैठकमा छलफल भएका विषयहरूका सम्बन्धमा आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसी प्रभावकारी भूमिका निर्वाह गर्न सीडीओहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा सीडीओहरूको अतिरिक्त मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरू एवं मन्त्रालयका कर्मचारीहरूको सहभागिता थियो ।




प्रतिक्रिया