टोकियो – राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच शिष्टाचार भेटघाट भएको छ ।
जापानको ४ दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबिच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार टोकियो आइपुगेका हुन् ।
सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबिच भेटवार्ता भएको हो । सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
उनले भने, ‘जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना लगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वीत भएका छन् ।’
जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले दुवै देश गौतम बुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको बताएका जानकारी दिए । ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ,’ राष्ट्रपति पौडेलले भने ।
दुवै देशबिच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो । ‘यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हामीबिच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो,’ राष्ट्रपति पौडेलले भने ।
सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सनबाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति उनले आभार व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकुल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा पनि गरे ।
सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए । सो अवसरमा उनले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको उल्लेख गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गरे ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गरे । उनले यहाँस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका छन् ।
जापानको ४ दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया