कपिलवस्तु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वडा प्रहरी कार्यालय चन्द्रौटाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको मंगलबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् ।
भवन उद्घाटन गर्दै उनले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावको प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले मुलुकको संवेदनशील र जोखिमयुक्त वर्गमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई सेवा, सुरक्षा, सहायता र न्यायको वातावरण उपलब्ध गराउनु नेपाल प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गर्दै नवनिर्मित भवनले उनीहरूविरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्ने अपेक्षा लिएको बताए ।
प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई प्रहरीको सेवा प्राप्तिमा सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गरी निडर भई उजुरी गर्न तथा परामर्श लिन सक्ने वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरे । प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक भौतिक पूर्वाधारहरूको पहिचान गरी सोही अनुरूप पूर्वाधार विकासलाई प्राथमिकतामा राखी संगठन अगाडि बढिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासमा यूएनओपीएसले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा समेत उनले गरे ।
कार्यक्रममा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतम र यूएनओपीएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा यूएनओपीएसका सिनियर एडभाइजर एवं अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, सञ्चारकर्मी एवम् स्थानीयको उपस्थिति थियो ।




प्रतिक्रिया