मौसम क्रमशः सुधार हुँदै, तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

मौसम क्रमशः सुधार हुँदै, तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना


काठमाण्डु – देशभर मौसममा क्रमिक सुधार आउने भएको छ । देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार केही ठाउँमा बदली भएपनि त्यो दिन भर नरहने र धेरै ठाउँमा घाम लाग्नेछ । मंगलबार कतैकतै छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । बदलीसहित केही ठाउँमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेको मौसमविद्ले बताएका छन् ।

तर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा बिहान बादल लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना सम्भावना रहेकोले ती भूभागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दिउँसोसम्म तराइ क्षेत्रका केही ठाउँमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । यो महिना माघलागेयता देशका पश्चिम र उच्च क्षेत्रमा तेस्रो पटक हिमपात र वर्षा भएको हो ।

यसैबीच बुधबार बिहान पौने ६ बजे काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको छ । मंगलबार काठमाण्डुको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो ।