काठमाण्डु– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालको स्वास्थ्य बीमा बापतको रकम महानगरले तिर्ने बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले बीमाको भुक्तानी गर्न नसके महानगरपालिका आफैंले तिर्ने बताएका हुन् ।
महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पिएको खण्डमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे ।
‘अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर । बीमाको बारेमा कुरा गर्दा मन्त्रीज्युसँग रिंगटा लागे लागे जस्तो भयो । कथं कदाचित यो स्वास्थ्य केन्द्र नेपाल सरकारले भुक्तानी नगरेको कारणले बन्द गर्नुपर्यो भने सबैभन्दा बढी गाली मैले खानुपर्ने रहेछ,’ मेयर महर्जनले भने, ‘पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस् । उहाँहरूको समस्या परिरहेको छ । कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु । जे पर्ला पर्ला ।’
उनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए ।




प्रतिक्रिया