काठमाण्डु – काठमाण्डु महानगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएको छ ।
यस्तै महाजगरले प्राकृतिक फूल तथा मालाको बिक्रीका लागि विभिन्न स्थान पनि तय गरेको छ ।
महानगरपालिकाका अनुसार तिहारका अवसरमा प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण गर्न पाइने छैन । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री किनबेच नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो ।
प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा ती सामग्री जफत गरिने चेतावनीसमेत महानगरले दिएको छ ।
यसैगरी महानगरले नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री–वितरणका लागि विभिन्न स्थान तोकेको जनाएको छ । महानगरले ती स्थानमा तोकिएको व्यवस्थाअनुसार फूलमाला बिक्री गर्न अनुरोध गरेको छ ।
महानगरले फूलमाला बिक्रीका लागि बानेश्वर, शंखमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालिमाटी, कलंकी, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगन्ज, गोंगबु, चप्पलकारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्युरोड, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थान तोकेको छ ।
महानगरले किसानले उत्पादन गरेका फूल तथा मालालाई प्राथमिकता दिँदै बिक्री–वितरणको व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गरेको छ । बिक्री–वितरणका लागि तोकिएका स्थानमा महानगर प्रहरी बलले सहजीकरण गर्ने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया