गौरमा फागुन १ देखि जीपिएलको तेस्रो संस्करण सुरु हुँदै

गौरमा फागुन १ देखि जीपिएलको तेस्रो संस्करण सुरु हुँदै


काठमाण्डु – रौतहटको सदरमुकाम गौरमा क्रिकेटको रौनक फेरि फर्कने भएको छ ।

जिल्लाकै सर्वाधिक प्रतिक्षित र चर्चित क्रिकेट प्रतियोगिता ‘गौरीशंकर यादव प्रिमियर लिग (जीपिएल) को तेस्रो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने तय भएको छ ।

खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्ने र स्थानीय प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले अहिले गौरबासीमा उत्साह थपेको छ ।

यस पटकको संस्करणमा गौर नगरपालिकाका विभिन्न टोल तथा क्षेत्रको प्रतिनिधित्व गर्ने नौं वटा टिमहरू मैदानमा उत्रिनेछन् । प्रतियोगिताका सबै खेलहरू गौरस्थित राइस मिल खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

गौरी शंकर यादव फाउन्डेसनको आयोजना र रौतहट जिल्ला क्रिकेट संघको प्राविधिक सहकार्यमा हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

फाउन्डेसनका अध्यक्ष मोहन यादवका अनुसार अघिल्ला दुई संस्करणको सफलता र लोकप्रियतालाई मध्यनजर गर्दै यस पटकको जीपिएललाई अझ बढी व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन कुनै कसर बाँकी राखिएको छैन ।

प्रतियोगिता अवधिभर गौरमा खेलकुदमय वातावरण सिर्जना हुने र यसले स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

आगामी फागुन १ गते भव्य उद्घाटन समारोहका बीच सुरु हुने यस प्रतियोगिताले गौरको खेल इतिहासमा अर्को नयाँ इँटा थप्ने निश्चित छ ।