काठमाण्डु – करीब ७९३ किलोग्राम गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियाबाट अवैध लागूऔषध गाँजा करीब ४३८ किलोग्रामसहित कैलाश गाउँपालिका–१० बस्ने २७ वर्षीय रामबहादुर मोक्तान समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ । उनीहरूले प्रयोग गरेको लु१च २१५२ नम्बरको बोलेरो गाडी र बा प्र ०३–००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जंगलबाट अवैध लागूऔषध गाँजा करीब २०५ किलोग्रामसहित साँगुरीगढी गाउँपालिका–७ बस्ने ३३ वर्षीय प्रकाश राई समेत २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।
ललितपुरको बाग्मती गाउँपालिका–३ छपेलीबाट करीब १५० किलोग्राम गाँजासहित मकवानपुर हेटौंडा बस्ने रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय नगेन्द्र श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना३च ४०५ नम्बरको हात्ती गाडीलाई जाँच गर्ने क्रममा गाँजा फेला पारी गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको छ ।
बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया