काठमाण्डु – आईसीसी टी२० विश्वकपको सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी हुँदै सुपर आठको समीकरण पूरा भएको हो ।
भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर आठ प्रवेश गरेका हुन् ।
अस्ट्रेलियालाई पाखा लगाउँदै विश्वकपमा जिम्बावे फेरि उदाएको हो ।
चार वटा समूह चरणको प्रतिस्पर्धामा अब्बल देखिएका दुई–दुई टिम सुपर आठ प्रवेश गरेका हुन् । समूह एका पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहबाट भारत र पाकिस्तान अघिल्लो चरण प्रवेश गर्दा अमेरिका, नेदरल्याण्ड्स र नामिबिया बाहिरिएका छन् ।
समूह बीबाट श्रीलंका र जिम्बावे सुपर आठ पुगेका छन् । समूह चरणको अन्तिम खेलमा भने यी दुवै टोलीले एक अर्काविरूद्ध बिहीबार खेल्दैछन् ।
यो समूहबाट आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् ।
विश्व विजेता अस्ट्रेलिया यो सिजन समूह चरणबाटै बाहिरिएको हो । जिम्बावेसँगको खेलमा पराजित हुनु अस्ट्रेलियाका लागि महंगो बनेको हो ।
विश्वकपमा नेपालसमेत सहभागी भएको समूह सीबाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर आठ प्रवेश गरेका छन् । यो समूहबाट नेपाल, इटाली र स्कटल्यान्ड बाहिरिएका छन् । सुपर आठ प्रवेश गरिसकेको वेस्ट इण्डिजले अन्तिम खेलमा बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकपको समूह डीबाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर आठमा पुगिसेका छन् । यो समूहबाट अफगानिस्तान, यूएई र क्यानडा बाहिरिएका छन् ।
विश्वकपमा सुपर आठका खेल शनिबारदेखि हुँदैछन् ।
सुपर आठको समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावेले प्रतिस्पर्धा गर्नेछन् भने समूह–२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका भिड्नेछन् ।
समूहका प्रत्येकले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यसरी प्रतिस्पर्धा गर्दा समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सुपर आठको पहिलो खेलमा पाकिस्तानले शनिबार न्युजिल्यान्डको सामना गर्दैछ ।
सुपर आठको तालिका





प्रतिक्रिया