काठमाण्डु – झापा–५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह बालेनले आफ्नो निर्वाचन क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका बालेनले झापा–५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने सङ्कल्प गरेका हुन् ।
वाचापत्रमा भनिएको छ, ‘झापा–५ का भूमिहीन, सुकुम्वासी था अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ।’
त्यस्तै उनले राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रुपमा उठाउने, सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने, स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्ने, स्थानीय तथा प्रदेश सरकारका योजनाहरु संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने वाचा गरेका छन् ।
उनले बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’को व्यवस्था गरिने जनाएका छन् । यस्तै ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिने पनि उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया