वसन्तपुरमा चीर ठड्याइयो, होली सुरु

वसन्तपुरमा चीर ठड्याइयो, होली सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरू भएको छ । मंगलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।

बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ ।

यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ । चीर उठाएको हेर्न वसन्तपुरमा भीड लागेको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएपछि फागुन शुक्ल अष्टमीदेखि काठमाण्डु उपत्यकालगायत देशभर होलीको रौनक शुरू हुन्छ । चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।

यस वर्षको होली काठमाण्डुलगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ ।
सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ ।