काठमाण्डु – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले चुनाव लक्षित ८ अठोट सार्वजनिक गरेका छन्।
संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि उनले आठ मुख्य बुँदामा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्।
कोइरालाले लोकतन्त्र भावनाले मात्र नभई संस्थाले टिक्ने उल्लेख गर्दै संविधान संशोधन र संघीयता सुदृढीकरणका लागि संसद्मा सक्रिय भूमिका खेल्ने पहिलो अठोट व्यक्त गरेका छन्। उनले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
औद्योगिक पुनर्जागरणलाई प्राथमिकतामा राख्दै उनले मोरङ ६ लाई उद्योगको ऐतिहासिक आधारका रूपमा विकास गर्ने बताएका छन्। ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नाराका साथ उनले बन्द उद्योग पुनः सञ्चालन, विराटनगर विमानस्थलको स्तरोन्नति र स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने नीति अघि सारेका छन्।
मोरङको मुख्य समस्याका रूपमा रहेको बाढी र डुबानबारे चर्चा गर्दै उनले बुढीखोला, केशलिया र सिंघिया जस्ता नदीहरूको दीर्घकालीन गुरुयोजना बनाई तटबन्ध निर्माण र वैज्ञानिक ड्रेनेज प्रणालीमार्फत स्थायी समाधान खोज्ने अठोट गरेका छन्। यस्तै, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने विषयलाई पनि उनले आफ्नो योजनामा समेटेका छन्।
कृषि क्षेत्रमा ुकिसानलाई सहानुभूति होइन, प्रणाली चाहिन्छु भन्दै उनले जलवायुमैत्री कृषि, मल-बीउको सुनिश्चितता र कृषि बिमा विस्तार गर्ने बताएका छन्। शिक्षा क्षेत्रमा ‘डिग्री मात्र होइन, सीप’ भन्ने मान्यताका साथ डिजिटल कक्षा र प्राविधिक शिक्षामा जोड दिएका छन् भने स्वास्थ्य सेवालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्न सरकारी अस्पतालको स्तरोन्नति गर्ने उनको योजना छ।
सूचना प्रविधिको विकासका लागि स्थानीय आइटी हब स्थापना र कोडिङ तथा एआई तालिममार्फत डिजिटल रोजगारी सिर्जना गर्ने अठोट पनि उनले सार्वजनिक गरेका छन्।
साथै, सुशासन र पारदर्शिताका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको सेवा विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।





प्रतिक्रिया