काठमाण्डु– पूर्व सभामुख तथा एमाले नेता देवराज घिमिरेले रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने काम गरेको आरोप लगाएका छन्। घिमिरेले मंगलबार बिहान बिर्तामोडमा आयोजिक रास्वपाको चुनावी कार्यक्रममा लामिछानले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको बताएका हुन् ।
झापा–२ मा पुगेका लामिछानेले घिमिरे सभामुख भएको बेला जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका थिए ।
घिमिरेले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर मविरूद्ध घृणा फैलाउने काम गर्नुभएछ, लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन्। घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन।’
‘संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यासअनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ,’ उनले भनेका छन्, ‘माइक काट्नेरकाटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ।’
उनले सभापति लामिछानेलाई संसदीय अभ्यासबारे सामान्य जानकारी समेत नभएको उनको भनाइ छ ।
घिमिरेले भनेका छन्, ‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसद्को अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ– मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।’
उनले अगाडि भनेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’
आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलाउन पनि उनले लामिछानेलाई आग्रह गरेका छन्।




प्रतिक्रिया