माओवादीको गढमा चार दललाई सकस

माओवादीको गढमा चार दललाई सकस

बाबुरामले कसलाई गर्लान समर्थन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २०६४ को पहिलो संविधानसभा निर्वाचनयतापछि हरेक निर्वाचनमा गोरखा–२मा चर्चाको केन्द्रमा रहँदै आएको छ ।आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता र फिर्ताले यो क्षेत्र थप तरंगित बन्यो ।

यसपटक यस क्षेत्रबाट दुई स्वतन्त्रसहित १३ जना उम्मेदवार मैदानमा छन् । भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको समर्थन कुन उम्मेदवारलाई हुने प्रस्ट भइसकेको छैन ।

यद्यपि भट्टराई आबद्ध दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले कसलाई समर्थन गर्छ भन्ने महत्वका साथ हेरिएको छ ।

गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा (एमाले)का मिलन गुरुङ (चक्रे मिलन), नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का लेखनाथ न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कविन्द्र बुर्लाकोर्टी चुनावी भिडन्तमा छन् ।

कांग्रेसका दवाडी लोकप्रिय उम्मेदवार हुन् । विगत १२ वर्षदेखि आफ्नै चुनाव चिन्हमा भोट हाल्न नपाएका यस क्षेत्रका कांग्रेसले मन फुकाएर भोट दिएर जिताउने दवाडीको विश्वास छ ।

नेकपाबाट उम्मेदवार बनेका न्यौपाने वौद्धिक नेता मानिन्छन् । संसदलाई चाहिने व्यक्तित्वका रूपमा उनलाई हेरिएको छ । व्यक्तित्व चिनेर मतदाताले मत दिनेमा उनी ढुक्क देखिन्छन् । साथै यसअघिका तीनवटै चुनावमा माओवादीले जितेकाले आफ्नो जित पक्का रहेकामा पनि उनी ढुक्क छन् ।

रास्वपाका महामन्त्री अहिले देशभरि नयाँलाई रोज्ने माहोल भएकाले आफूले जित हातपार्नेमा विश्वस्त छन् । यसअघि कांग्रेससँगको गठबन्धनमा उठेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गरेका उनले बदलिएको परिवेशमा जित हात पार्ने दावी गरेका छन् ।

एमालेका उम्मेदवार मिलन गुरुङ परिचित व्यक्ति हुन् । युवाशक्तिलाई परिचालन गर्ने सामथ्र्य भएका उनी पनि सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट गाउँपालिकाका गुरुङ समुदायको साम्प्रदायिक मत प्राप्त गरी जित्ने होडमा छन् । साथै उनले पनि कांग्रेस, नेकपाको मत रास्वपाले तान्ने हुँदा त्यसको लाभमतले जित्ने जिकिर गर्दछन् ।

फिँजिएका संगठन र पुरानो भोट बैंकको आशामा कांग्रेस, नेकपा र एमालेका उम्मेदवार जित्नेमा ढुक्क छन् भने नयाँलाई जिताउने र नयाँ पुस्ताको हुटहुटीको माहोलमा रास्वपा विश्वस्त छ ।

गोरखाको अवस्था अत्यन्त तरल अवस्थामा रहेकाले वास्तविक फैसला फागुन २१ गतेको मतदानले नै गर्नेछ ।गोरखा–२ को चुनावी इतिहास हेर्दा बहुदलयताका तीन वटा चुनावमा कांग्रेस र २०६४को पछि भएका चार वटा चुनावमा माओवादी पृष्ठभूमि भएका उम्मेदवारले जितेका थिए ।

२०४८ मा यस क्षेत्रबाट कांग्रेसकी मैयादेवी श्रेष्ठ निर्वाचित भएकी थिइन् । त्यसपछि २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचन कांग्रेसकै कमला पन्तले लगातार जितिन् । तर त्यसपछि भएका चुनावमा माओवादीले यो क्षेत्रमा कब्जा जमाएको छ ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट डा बाबुराम भट्टराईले सबैभन्दा बढी मत ल्याएर जिते । २०७० मा भएको दोस्रो संविधानसभामा माओवादीकै हितराज पाण्डे सो क्षेत्रबाट निर्वाचित भए ।

२०७४ मा भएको चुनावमा एमाले र माओवादीबीच चुनावी तालमेल हुँदा कांग्रेससँग मिलेर भट्टराईले चुनाव जिते । २०७९ मा भएको अर्काे चुनावमा भट्टराईले आफूले जितेको क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सघाए र दाहाल विजयी भए ।

विगतमा दलहरूबीच गठबन्धन हुँदा उम्मेदवारलाई जित निकाल्न सजिलो थियो भने यसपटक तीव्र प्रतिस्पर्धा छ । गोरखा–२ मा यसअघिको निर्वाचनका प्रतिस्पर्धी दल नेकपा र कांग्रेसका कार्यकर्ता खण्डित देखिँदा निर्वाचनमा कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अनुमान गर्न गाह्रो छ ।

पहिलेको माओवादी अहिलेको नेकपाका कार्यकर्ता पनि रास्वपामा गएको देखिन्छ । यस्तै कांग्रेस कार्यकर्ता पनि रास्वपामा प्रवेश गरेका छन् । जसका कारण दुई प्रतिस्पर्धीका कार्यकर्ता खण्डित हुँदै परिणाम फरक आउने विश्लेषण गरिएको छ ।