काठमाण्डु – आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।
कांग्रेस रुकुम पश्चिमले पत्रकार सम्मेलन आयोजना गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।
१४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धीकरण र सभ्य समाज निर्माण, मौलिक विकास नीति, सुशासन, आधुनिक र प्रविधिमैत्री शिक्षा, स्वास्थ्यमा पहुँच, मर्यादित कृषि र सम्मानित किसानका पक्षमा काम गर्ने कांग्रेसले जनाएको छ ।
पर्यटन, जडीबुटी र पूर्वाधार, बसाइसराइ नियन्त्रण, सुरक्षित सडक र भौतिक पूर्वाधार, बिजुली, पानी र सफा वातावरण, स्थानीय तहमा ग्रामीण स्टोर, व्यावसायिक सिँचाइ प्रणाली, युवा सशक्तीकरण र करिअर काउन्सिलिङ र जलवायु अनुकूलन तथा पर्यावरण संरक्षणका विषयमा काम गर्ने प्रतिज्ञा गरिएको छ ।
राजनीतिलाई फोहोरी खेल भन्ने भ्रमलाई चिर्ने, राजनीतिक र सार्वजनिक संस्थानहरूको लोकतान्त्रीकरण गर्ने प्रतिज्ञा पत्रमा भनिएको छ ।
जिल्लाको मौलिकतामा आधारित विकास नीति अवलम्बन गर्ने, विकासलाई विपन्न नागरिकको गरिबी निवारण र जनजीविकासँग सिधै जोड्ने, समाजवाद आधारित लोकतान्त्रिक सुशासन लागू गर्ने, विगतका अनियमितताको निष्पक्ष छानबिन गर्ने, देशमा एकै शिक्षा नीति र एकै शिक्षा प्रणाली लागू गर्न पहल गर्ने, विद्यालयमा एआई र डिजिटल लर्निङ प्रविधि भित्र्याउने प्रतिज्ञा पत्रमा उल्लेख छ ।
यस्तै किसानलाई आधुनिक उद्यमीको पहिचान दिलाउने, किसानलाई पेन्सन र सामाजिक सुरक्षाको व्यवस्था, जिल्लालाई सुन्तला, आँप, केरा, किवी र कफी खेतीको विशिष्टीकृत पकेट क्षेत्र घोषणा गर्ने उल्लेख छ ।
यसका साथै स्यार्पू ताल, बुरालमष्ट मन्दिर र अन्य धार्मिक–प्राकृतिक स्थललाई जोडेर रुकुम पर्यटकीय सर्किट निर्माण गर्ने, जडीबुटीको प्रशोधन गरी रुकुमेली ब्रान्ड निर्यात गर्ने, सडक, शिक्षा, स्वास्थ्य र इन्टरनेट जस्ता सुविधाहरू गाउँमै फूर्याएर सहर केन्द्रित बसाइसराइ रोक्ने, भेरी नदीमा निर्माणाधीन पुललाई तत्काल सम्पन्न गर्न पहल गर्ने, केन्द्रीय प्रसारण लाइन वा सौर्य ऊर्जा मार्फत सबै घरमा बिजुली फू¥याउने कांग्रेसको प्रतिज्ञा पत्रमा भनिएको छ ।
जिल्लाका आठबिसकोटको राडी, चौरजहारीको चौफा, मुसिकोटको खलङ्गा, त्रिवेणीको झुल्नेटा, सानीभेरीको सिम्ली र बाँफिकोटको छिन खेतमा स्थानीय र वित्तीय संस्थाहरूको साझेदारीमा आधुनिक ग्रामीण स्टोर निर्माण गर्ने स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारीमा टेवा फूर्याउने, एक घर एक धारा, बाह्रै महिना सिँचाइको सुविधा, जिल्लाका मावि र क्याम्पसमा नियमित करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने, रोजगारी सूचना केन्द्रलाई लागु गर्ने, जलाधार संरक्षण लगायतका विषय पनि प्रतिज्ञा पत्रमा समेटिएका छन् ।




प्रतिक्रिया