काठमाण्डु – अन्तर्राष्ट्रिय मिडिया रोयटर्सले नेपालको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि प्रधानमन्त्री बन्ने दौडमा ‘र्यापर–मेयर’ बालेन्द्र शाह ‘बालेन’ अग्रपंक्तिमा रहेका दाबी गरेको छ ।
बुधबार समाचार प्रकाशित गर्दै रोयटर्सले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन भावी प्रधानमन्त्री बन्ने सम्भावनालाई जोड दिएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा मतदातासामु प्रस्तुत गरिसकेको छ ।
‘सन् २०२२ मा राजधानी काठमाण्डुको मेयर बनेर आफ्नो राजनीतिक यात्रा सुरु गरेका यी सङ्गीतकर्मी आगामी मार्च ५ मा हुने आमनिर्वाचनपछि नेपालको अर्को प्रधानमन्त्री बन्ने दौडमा हाबी भइरहेका छन्,’ समाचारमा भनिएको छ, ‘नेपालमा कुनै भरपर्दो जनमत सर्वेक्षण छैन तर ४ जना राजनीतिक विश्लेषक र स्थानीय सञ्चारमाध्यमले उनलाई देशको परम्परागत राजनीतिक सम्भ्रान्त वर्गलाई पन्छाउँदै प्रधानमन्त्रीको प्रमुख रोजाइको रूपमा प्रस्तुत गरेका छन् ।’
काठमाण्डु आउने बसहरूमा ‘बालेनको सहरतर्फ’ लेखिएका स्टिकरहरू टाँसिएका कुरालाई समाचारमा लोकप्रियताको आधारका रूपमा समावेश गरिएको छ ।
समाचारमा उल्लेख छ, ‘शाहको देशव्यापी आकर्षणको केही हिस्सा उनले काठमाण्डुको मेयरका रूपमा गरेका कामहरूले निर्देशित छ, जहाँ उनले फोहोर व्यवस्थापन जस्ता सहरी पूर्वाधार सुधार र स्वास्थ्य सेवा जस्ता सेवा प्रवाह सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरे । उनले सडक व्यवसायी र भूमिहीनहरूको सम्पत्ति जफत गर्न प्रहरी प्रयोग गरेको आरोपमा ‘ह्युमन राइट्स वाच’ लगायतबाट आलोचनाको सामना पनि गरेका छन् ।’
आमनिर्वाचन लड्न जनवरीमा मेयर पदबाट राजीनामा दिएका शाहले रोयटर्सको अन्तर्वार्ताको अनुरोध र इमेलमार्फत पठाइएका प्रश्नहरूको जवाफ नदिएको समेत समाचारमा उल्लेख छ ।




प्रतिक्रिया