चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, ४०० बढी बिरामी

चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, ४०० बढी बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका ४०० बढी स्थानीय बिरामी परेका छन् ।

ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन् । स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका ४ बस्तीमा तीव्र रूपमा फैलिएको हो ।

नर्खजीमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधि दुवै अभावमा देखिएको छ । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर सहितको टोली गाउँ पुगेपनि रोग नियन्त्रणमा आउन सकेको छैन । उपचारमा खटिएको टोली १२ गते गाँउबाट फर्किसकेको छ भने अहिले १ जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचारमा सक्रिय छन् ।

नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ‘गाउँपालिकालाई जानकारी गराइसकेका छौं । औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ । स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको र आफूसहित १ जना मात्रै स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको छ,’ उनले भने ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करीब ३०० बिरामीको परीक्षण गरेको जानकारी गराएका छन । ज्वरोका कारण बालबालिका देखि वृद्धवृद्धासम्म प्रभावित भएका छन् । औषधि अभाव देखिन्छ । ५० जनालाई खोप लगाइएको उनले जानकारी दिए ।

आफू पनि ज्वरोबाट प्रभावित भएपछि २ दिनअघि टोली फर्किनुपरेको बताउँदै उनले समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने बताए । विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ । उपचारका लागि गएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम रहेको छ ।

उता गाउँमा ज्वरोको प्रकोप बढिरहँदा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू भोट माग्न शिक्षा र स्वास्थ्यका नारा लिएर गाउँमा पुगिरहेका भए पनि अहिले गाँउमा औषधि र जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ । बिरामी संख्या बढेकाले औषधि अभाव भएको छ ।

दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्समार्फत ल्याउने तयारी भइरहेको समेत बताएका छन् ।

जिल्ला अस्पताललाई पनि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका मौखिक रूपमा आग्रह गरिएको भए पनि सकारात्मक जवाफ नआएको सिनियर अहेव रावलले बताए ।

यसबारे जिल्ला अस्पताल मुगुका प्रमुख डा।निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताएका छन् । भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहाँबाटै टोली परिचालन गरिएको उनले जानकारी दिए ।