काठमाण्डु – नेपाली सेनाका चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान गरेका छन् ।
भारतीय सेनाले शुक्रबार आयोजना गर्न लागेको १०औँ ‘चीफ्स कन्क्लेभ’मा भाग लिन नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरू दिल्ली भ्रमणमा गएका हुन् ।
भारतीय सेनाले हरेक वर्ष यस्ता सुरक्षा सम्बन्धी कन्क्लेभ गर्दै आइरहेको छ । यस पटक ‘चिफ कन्क्लेभ’ सेमिनार गर्न लागेको हो ।
पूर्व प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा, प्यारजंग थापा, राजेन्द्र क्षेत्री र गौरवशमशेर राणा उक्त कन्क्लेभमा भाग लिएका छन् ।
यो कन्क्लेभमा नेपाल र भारतका पूर्व प्रधानसेनापतिहरूलाई सेनाका विभिन्न अपरेसन तथा संरचनात्मक पक्षबारे जानकारी गराइन्छ ।
नेपाली सेनाका प्रधानसेनापतिहरू भारतीय सेनाका मानार्थ प्रधानसेनापति हुने परम्परा छ भने भारतीय सेनाका प्रधानसेनापतिहरू पनि नेपाली सेनाका मानार्थ प्रधानसेनापति हुने व्यवस्था छ ।
भारत र नेपालबीच घनिष्ठ सैनिक सम्बन्ध रहँदै आएको छ र दुवै देशले नियमित रूपमा संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गर्दै आएका छन् ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली र भारतीय सेनाबीच हुने नियमित कन्क्लेभमा भाग लिन पूर्व प्रधानसेनापतिहरू भाग लिएका हुन् ।
‘भारतको सेना दिवसको अवसरमा हुने यो दुई सेनाबीचको नियमित कार्यक्रम हो’ उनले भने, ‘गत वर्ष भारतका पूर्व प्रधानसेनापतिहरू नेपाल आउनु भएको थियो भने यसपटक नेपाललाई आमन्त्रण गरिएको हो ।’
प्रवक्ता बस्नेतले विगतको अभ्यास र परम्परानुसार नै सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा ४ जना पूर्व प्रधानसेनापतिहरु कार्यक्रममा सहभागी भएको बचाए ।
‘यसलाई दुई देशबीचको सैनिक सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रूपमा हामीले लिएका छौं’, काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भने ।
भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदी र भारतीय सेनाका अन्य उच्च अधिकारीहरूले आधुनिक युद्धका चुनौती सामना गर्न हालका वर्षहरूमा सेनामा गरिएका प्रमुख रूपान्तरणबारे नेपालाका पूर्व प्रधानसेनापतिहरूलाई जानकारी गराउने छन् ।
पूर्व प्रधानसेनापतिहरूलाई ‘अपरेशन सिन्दूर’ का क्रममा भारतीय सेनाले गरेका कारबाही र द्वन्द्वका बेला अधिकांश आतंकवादी शिविर ध्वस्त पारिएको विषयमा पनि जानकारी दिइने सम्भावना छ ।
कन्क्लेभमा भारतका आठ पूर्व प्रधानसेनापतिहरूमध्ये मिजोरमका राज्यपाल वीके सिंह, मनोज मुकुन्द नरवणे, मनोज पाण्डे, दीपक कपूर, जे.जे. सिंह र एनसी विज पनि छन् ।




प्रतिक्रिया