प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

शुक्रबार चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन्। उनी केही दिनअघि मात्रै राजदूत नियुक्त भएर नेपाल आएका थिए।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् ।

साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन् ।

राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गरे । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए।

प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्दै विकासका विभिन्न परियोजना र आयामहरुमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन्।

भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गरे।