सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।

प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा दाबी सङ्ख्या १.३१ प्रतिशतले घटेको भए पनि भुक्तानी रकम भने १.२१ प्रतिशतले बढेको देखिएको छ ।

निर्जीवन बिमा क्षेत्रमा भने दाबी भुक्तानीको चाप उल्लेख्य रूपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष भुक्तानी रकम ३२.३० प्रतिशतले वृद्धि भई १५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार गत भदौमा भएको आन्दोलन र असोजमा आएको विनाशकारी बाढी–पहिरोका कारण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि निर्जीवन बिमातर्फ दाबी र भुक्तानी दुवै ह्वात्तै बढेको हो ।

अझै ५५ अर्बभन्दा बढी दायित्व बाँकी

कम्पनीहरूले ठूलो रकम भुक्तानी गरिसके पनि अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी रकम तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब ५० अर्ब १५ करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ ।

विशेषगरी असोजको प्राकृतिक विपत्तिसँग सम्बन्धित ठूला दाबीहरूको प्राविधिक मूल्याङ्कन प्रक्रिया जारी रहेकाले बाँकी दायित्व उच्च देखिएको प्राधिकरणले जनाएको छ । हाल १ लाख ७६ हजारभन्दा बढी दाबी फाइलहरू प्रक्रियामै रहेको जनाइएको छ ।

बिमा क्षेत्रमा बढ्दो दाबी भुक्तानीले एकातिर सेवा पहुँच र दाबी व्यवस्थापन क्षमता बढेको संकेत गरे पनि प्राकृतिक विपत्तिको जोखिमले निर्जीवन बिमा क्षेत्रमा वित्तीय दबाब बढाएको देखिएको छ ।