काठमाण्डु – अमेरिकाले ९५ नेपालीलाई डिपोर्ट गरेको छ ।
डिपोर्ट भएका नेपालीहरू शनिबार बिहान काठमाण्डु आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमाफ्रत् काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडिदिएका हुन् ।
एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । यसअघि माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो ।
अमेरिकाले यसअघि पनि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यस्तै भदौ १९ गते एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।
विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ जना नेपाली चार्टर विमानमाफ्रत् शनिबार काठमाण्डु आइपुगेका छन् ।
अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएका हुन् । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाइएको छ ।
प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।




प्रतिक्रिया