मधेशमा ५ वर्षभित्र व्यापक परिवर्तन हुनेछ : सभापति थापा

मधेशमा ५ वर्षभित्र व्यापक परिवर्तन हुनेछ : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – नेपाल कांग्रेसका सभापति गगन कुमार थापाले आगामी ५ वर्षभित्र मधेशका दलित तथा विपन्न घरपरिवारको बस्तीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्लाहीको ईश्वरपुर–६ बयलबास बजारमा चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धामा हिँडिरहँदा मधेशका दलित तथा विपन्न परिवारमा रहेको बस्ती अबको ५ वर्षमा पूर्ण रूपमा परिवर्तन हुने दाबी गरे ।

सर्लाहीको दलित तथा विपन्नको अवस्था हेर्दा यस्तो होला भन्ने आफूले कल्पना समेत नगरेको थापाले बताए । उनले मधेशको शिक्षा, कृषि र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको ५ वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,’ उनले भने ।

यसैगरी कृषि क्षेत्रमा देखिएको मलखाद अभाव र बिचौलियाको समस्याबारे बोल्दै थापाले अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने बताए । बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गरिने उनको भनाइ छ ।

यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै ‘हावा हुण्डरीमा एकछिन अडिक हुन’ मतदातासँग आग्रह गरे । २०६४ सालमा पनि यस्तै राजनीतिक लहर आएको तर अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्दै अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने उनको दाबी गरे ।

थापाले परिवर्तनका लागि सबै राजनीतिक शक्तिको सहकार्य आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस, नेकपा एमाले, अन्य कम्युनिस्ट तथा मधेशवादी दलहरूको सहयोग आवश्यक पर्ने धारणा राखे । संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दिगो परिवर्तन सम्भव नहुने उनको भनाइ थियो ।

देशको समग्र विकासबारे बोल्दै थापाले भने, ‘कांग्रेसको मुद्दा देशलाई ५ वर्षमा तीव्र गतिमा विना दुर्घटना अघि बढाउनु हो ।’

२०४६ सालपछि भएका राजनीतिक गतिविधि र व्यक्तिहरूको छानबिन गरिने दाबी गर्दै उनले छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने बताए ।

नेपालमा ५ लाख युवामा ५० हजारले मात्र रोजगारी पाएको छ । बाँकी साढे ४ लाखलाई ५ वर्षमा प्रत्येक वर्ष ५० हजार युवाले रोजगारी पाउने थापाले दाबी गरे ।

युवाहरूमा पुराना पार्टीप्रति असन्तुष्टि रहेको स्वीकार गर्दै थापाले विचार र नेतृत्वमा परिवर्तन ल्याएर युवामैत्री कांग्रेस निर्माण गरेको दाबी गरे । ‘युवाको विचारअनुसार बदलिएको कांग्रेसलाई मतदान गर्न म आग्रह गर्छु,’ उनले भने ।